Kirtipur, Kathmandu, Nepal
विश्वविद्यालय अनुदान आयोगको आर्थिक सहायतामा पुस्तकालय तथा सूचना विज्ञान केन्द्रिय विभाग, त्रि. वि. कीर्तिपुरद्वारा आयोजित "Training on Data Analysis, Journal Search, Preparing Interactive Presentations and Brochures" विषयक पाँच दिने तालिम कार्यक्रमको आज समापन भयो। त्रि. वि. का विभिन्न केन्द्रीय विभाग (भाषाविज्ञान, द्वन्द, शान्ती र विकास, ललितकला, वनस्पतिशास्त्र, वातावरण विज्ञान आदि), सिनास, ताहाचल क्याम्पस तथा उपत्यका बाहिरका वीरेन्द्र बहुमुखी क्याम्पसलगायत अन्य केही आङ्गिक क्याम्पसका प्राध्यापक/कर्मचारी तथा पुस्तकालय तथा सूचना विज्ञान केन्द्रिय विभागका विद्यार्थीहरूसमेतको सहभागिता रहेको यस कार्यक्रमको उद्घाटन त्रि. वि. का शिक्षाध्यक्ष प्रा. डा. खड्ग के.सी. ले गर्नुभएको थियो भने विशिष्ट अतिथिका रूपमा विश्वविद्यालय क्याम्पसका प्राचार्य प्रा. डा. ध्यानेन्द्र बहादुर राई रहनुभएको थियो। पुस्तकालय तथा सूचना विज्ञान केन्द्रिय विभागका प्रमुख डा. लीला न्याइच्याईको सभापतित्वमा सम्पन्न उद्घाटन सत्रमा त्रि. वि. केन्द्रीय पुस्तकालयका प्रमुख सागर राज सुवेदीले समेत आतिथ्यता गर्नुभएको थियो। आज सम्पन्न समापन सत्रको प्रमुख अतिथिका रूपमा प्रा. डा. ध्यानेन्द्र बहादुर राईले यति सघन र उपलब्धिमूलक कार्यक्रम आयोजना गरेकामा आयोजक विभागको प्रशंसा गर्नुभयो भने सक्रिय सहभागिताका निम्ति सबैलाई धन्यवाद दिनुभयो।
यस कार्यक्रममा उपप्राध्यापक डा. बलराम दुवाल (व्यवस्थापन केन्द्रीय विभाग) ले SPSS सफ्टवेयर प्रयोग गरी तथ्याङ्क विश्लेषण ( Quantitative data) गर्ने तौरतरिका सिकाउनुभयो। त्रि. वि. केन्द्रीय पुस्तकालयका सूचना प्रविधि विशेषज्ञ योगेश जोशीले प्रभावकारी एवं अन्तर्क्रियात्मक पठनपाठनका निम्ति पावरपोइन्ट (PowerPoint) प्रस्तुति तयार गर्ने सिप र जुक्ति सिकाउनुभयो। उपप्राध्यापक डा. वेद प्रसाद ढकालले Atlas-ti सफ्टवेयर प्रयोग गरी गुणात्मक तथ्याङ्क (Qualitative data) विश्लेषण गर्ने विधि तथा प्रकिया सिकाउनुभयो। पोखरा विश्वविद्यालयका उपप्राध्यापक डा. नारायण प्रसाद कोजूले Strategies for Journal Search (जर्नल खोजी गर्ने तौरतरिका) सिकाउनुभयो। पुस्तकालय तथा सूचना विज्ञान केन्द्रिय विभागका उपप्राध्यापक सरिता गौतमले Canva सफ्टवेयर प्रयोग गरी निमन्त्रणा पत्र, ब्रोसर (brochure) आदि बनाउन सिकाउनुभयो भने सोही विभागका शिक्षक सञ्जीव कुमार सिंहले Canva कै सहायताले ब्यानर, निर्माण गर्न सिकाउनुभयो। प्रत्येक मूलसत्रको अन्त्यपछि प्रायोगिक अभ्यास गराउनका निम्ति पुस्तकालय तथा सूचना विज्ञान केन्द्रिय विभागका प्रमुख डा. लीला न्याइच्याई एवं उपप्राध्यापक निरा मानन्धरले सहजकर्ताको भूमिका निर्वाह गर्नुभयो। दैनिक ७-८ घण्टाका दरले ५ दिनसम्म सञ्चालन भएको यो गोष्ठीबाट उक्त विभागका प्रमुख, शिक्षक तथा कर्मचारी बिचको सहकार्य, आपसी सहयोगको वाताबरणमा खोट लगाउने ठाउँ कतै नरहने गरी गरिएको व्यवस्थापनबाट थप कुरा सिक्ने अवसर प्राप्त भएको र यति राम्रो कार्यक्रम आयोजना गरेर सहभागीहरूलाई दैनिक पठनपाठन तथा अध्ययन अनुसन्धानमा आवश्यक पर्ने सिप सिक्न प्रेरित गर्ने पुस्तकालय तथा सूचना विज्ञान केन्द्रिय विभागको जति प्रशंसा गरे पनि कम नै हुनेमा सहभागीहरुको भनाई रहेको थियो। आफ्नो बहुमूल्य समय दिएर आफूले जानेको कुरा सहज रूपमा सेयर गर्ने सहजकर्ता/विशेषज्ञहरूलाई विभागको तर्फबाट विशेष धन्यवाद व्यक्त गर्दछौें। यो कार्यक्रममा सहभागी भएर एकआपसमा परिचित भएका हामी सबै सहभागीहरू अब सधैँका लागि मित्रसूचीमा समेटिएका छौं। कार्यक्रममा खिचिएका केही तस्बिरहरू:



